शहीद स्मृति गोल्डकपः पुलिसलाई स्तब्ध पार्दै संकटा सेमिफाइनलमा

२९ फागुन, हेटौंडा । विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै संकटा क्लबले हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा जित निकालेको छ ।

शनिवार भएको अतिनै रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई संकटाले १–० गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको हो । जितसँगै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ । संकटाको जितका लागी विदेशी खेलाडी अकेइ कोलुले गोल गरे । खेलको म्यान अफ द म्याचको पुरस्कार संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद १० हजार पुरसकार प्राप्त गरे । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिताको आजको औपचारीक कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको प्रमुख आतित्थ्यता रहेको थियो । प्रतियोगिताअन्तर्गत आइतबार बागमती युवा क्लब बागमती सर्लाही र विभागीय टोली नेपाल एपिएफ विच हुने छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।