बागमती गोल्डकपको चौथो संस्करण चैत्र १३ गतेदेखि हुने

१ चैत्र, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ हुने भएको छ ।
आईतवार पत्रकार सम्मेलन गर्दै चैत्र १३ गते देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजक बागमती खेलकुद बिकास समितिका अध्यक्ष भिम बहादुर राईले जानकारी दिनुभयो । बागमती गाउँपालिकाको सान युवा खेलाडी उत्पादन, सम्मान, सदभाव, शान्ति र समृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ गोल्डकप प्रतियोगिताको आयोजना गरिएको हो । बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माबिको खेलमैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बागमती गाउँपालिका रहेको छ । यसैगरी प्रतियोगितामा साबिक बिजेता जाउलाखेल युवा क्लब सहित ए डिभिजनका फुटबल क्लबहरु च्यासल युवा क्लब , संकटा युवा क्लब , मछिन्द्र क्लब र थ्री स्टार युवा क्लबको सहभागीता रहने छ । यस्तै प्रतियोगितामा नव जन जागृती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, हेटौंडा –११ क्लब, बि.वाई.सि क्लब भरतपुर चितवन र आयोजक बागमती खेलकुद बिकास समितीले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताका लागी बिभागिय टोली ए.पि.एफ क्लब र नेपाल पुलिस क्लब लाई समेत पत्राचार गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी बिजेताले नगद ८ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछन भने उपाधी उप बिजेताले नगद ४ लाख रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले बताएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार ,बिधागत उत्कृष्ट खेलाडीले नगद १० हजार र म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार हातपार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।