शहीद स्मृति गोल्डकपः उत्कृष्ट कमब्याक गर्दै विदेशी क्लब अरास सेमिफाइनलमा

३ चैत्र, हेटौंडा । उत्कृष्ट कमब्याक गर्दै विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
बागमती युवा क्लब सलार्ही विरुद्ध एक गोलले पछि परेको अवस्था उल्टयाउँदै आरसले सेमिफाइनलमा स्थान बनाएको हो । आसर बागमती विरुद्ध २–१ गोल अन्तरल विजयी भयो ।
पहिलो हामफको २४ औं मिनेटमा लिएको अग्रता अन्तिम समयमा जोगाउँन नसक्दा बागमती युवा क्लब पराजित भयो । विदेशी क्लब आरसका लागी बासेकले र लोइसले एक एक गोल गर्दै जित निकाले । यसअघि बागमतीका लागी २४ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समिरले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आरसका मौसा घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । अब फाइनल प्रवेशका लागी अरासले विभागीय टोली नेपाल आर्मिसँग प्रतिष्पर्धा गर्ने छ । आरस र आर्मीबिचको दोश्रो सेमिफाइनल खेल ५ गते विहीबार हुने छ । यसैगरी प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेल भोली बुधबार आयोजक रिगल रिसोर्ट मकवानपुर ११ र मच्छिन्द्र क्बलबिच हुने छ ।
मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा जारी तेस्रो संस्करणको फुटबल प्रतियोगितामा एउटा विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।