लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै आयोजक मकवानपुर फाइनलमा

४ चैत, हेटौंडा । आयोजक मकवानपुर ११ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको अवस्था उल्टयाउँदै मकवानपुर ११ ले फाइनलमा स्थान बनाउँन सफल भएको हो । मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मकवानपुरको जितका लागी अमिर श्रेष्ठले दुई तथा रन्जन विष्ट र रुपेश केसीले एक एक गोल गरे । यस्तै मच्छिन्द्रका लागी पुजन उपरकोटी, अशोक थापा र राजेश परियाले एक एक गोल फर्काए । खेल सुरु भएको १० औं मिनेटमा पुजन उपरकोटीको गोलबाट लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा मच्छिन्द्र पराजित हुन पुगेको हो । बुधबारको खेलको म्यान अफ दी म्याच मकवानपुर ११ का अमिर श्रेष्ठ घोषित भए । उनले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे । दोस्रो सेमिफाइनल खेल भोली विहीबार विभागीय टोली नेपाल आर्मि र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनविच हुने छ । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा जारी तेस्रो संस्करणको फुटबल प्रतियोगितामा एउटा विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।