प्रेस चौतारी मकवानपुर अधिकारीको नेतृत्वमा महासंघको निर्वाचनमा जाने

७ चैत्र, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी चैत्र २५ गते हुने निर्वाचनमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले प्रेस चौतारी नेपाल बागमती प्रदेश सदस्य बालकृष्ण अधिकारीको नेतृत्वमा प्यानल सहित निर्वाचनमा जाने निर्णय गरेको छ ।
चौतारीको बागमती गाउँपालिकामा बसेको विस्तारीत भेला तथा बैठकले अधिकारीको नेतृत्वमा पत्रकार महासंघको निर्वाचनमा जाने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको निर्वाचनमा गत निर्वाचनमा जस्तै चौतारीको नेतृत्वलाई विजयी गराउन अभियान सञ्चालन गर्ने समेत निर्णय भएको छ । बैठकले गत फागुन २९ गते काठमाण्डौँमा भएको प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिले घोषणाँ गरेको मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल तथा सह–संयोजक पुष्पराज अधिकारीलाई स्वागत गर्नुको साथै भेलाद्वारा अनुमोदन समेत गरेको छ । बैठकले मकवानपुरमा सक्रिय सञ्चारकर्मी निशा गुरुङलाई जिल्ला कमिटिमा मनोनित गरेको छ । नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य अणराज जर्गामगरको प्रमुख आतिथ्यतामा भएको बैठक तथा भेलामा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिका सह–संयोजक प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरिप्रसाद हुँमगाई, प्रेस चौतारीका बागमती प्रदेश सदस्यहरुको आतिथ्यता रहेको थियो । भेला तथा बैठक प्रेस चौतारी नेपाल, मकवानपुर शाखाका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।