चालु आर्थिक वर्षको फागुनसम्म १ सय ३२ वटा विवाद दर्ता

१३ चैत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७७÷०७८ को साउन देखी फागुनसम्म १ सय ३२ वटा विवाद दर्ता भएको छ ।


यस्तै हेटौंडा उपमहानगरपालिमा रहेको न्यायिक समितिले साउन देखी फागुन मसान्तसम्म ४९ वटा स्थानीय स्तरमा आउने विवादहरुको समाधान गरेको न्यायिक समितिको कानून अधिकृत सुजन तिमल्सिनाले बताउनुभयो । यस्तै न्यायिक समितीमा गत आर्थिकवर्ष २०७६÷०७७ मा परेको १४ वटा विवादहरु यस आर्थिक वर्षमा सरिआएको र ११ वटा विवादहरु मिलापत्र हुन नसकेको उहाँले बताउँनुभयो । यस्तै ४ वटा विवादहरु दुवैपक्षले दावी गर्दा न्यायिक सिमितीबाट समधान हुन नसकी अदालतजान सुझाव दिएको कानून अधिकृत सुजन तिमल्सिनाले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७६ को दफा ४७ मा व्यवस्था भएबमेजिम आफ्नो क्षेत्रभित्र उत्पन्न विवादहरु स्थानीय स्तरमै समाधान गर्ने र समाजमा सहिष्णुता कायम गर्न भाईचारा कायम गर्न, कानुनी व्यवस्था भएबमोजिम हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाहरुमा ९७ जना मेलमिलापकर्ताको तालिम दिएर मेलमिलापकर्ताहरु सृचिकृत गरेर राखेको कानून अधिकृत तिमल्सिनाले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले कार्यसम्पादनमा सहजता ल्याउन न्यायिक समिति अन्तर्गत सूचीकृत मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम दिँदै आएको छ ।