अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जित्यो

१४ चैत्र, हेटौंडा । आयोजक हेटौंडा उपमहानगरपालिकाले अन्तर शहर चेस प्रतियोगिताको उपाधि जितेको छ ।


शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका १३ अंकसहित प्रथम स्थान हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । हेटौंडा उपमहानगरपालिकाको टिमले उपाधिसँगै नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा दोलखा जिल्ला बुद्धिचाल संघ १२ अंकसहित दोस्रो स्थानमा रहँदै एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने १० अंकसहित ललितपुर महानगरपालिकाको टिम तेस्रो हुँदै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा ललितपुरको ललितपुर खेलकुद क्लब र ललितपुरको महालक्ष्मी नगरपालिका क्रमशः ९ र ८ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदै नगद ३० र २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा बोर्डको उत्कृष्ट खेलाडी बन्दै हेटौंडा उपमहानगरपालिकाका क्षितिज भण्डारी, रुपेश जैसवाल, सुरवीर लामा, दोलखा जिल्लाको दोलखा बुद्धिचाल संघका मनिष हमाल र नुवाकोटको विदुर नगरपालिकाका आश्चर्य चौधरीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो ।