चित्तल मार्न पाइदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्ने नारासहित हेटौँडामा सडक अवरुद्ध

१५ चैत्र, हेटौंडा । वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) मा अध्ययनरत विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणको माग गर्दै केही बेर पुर्व–पश्चिम राजमाग अवरुद्ध गरेका छन् ।
आइतबार फरेष्टी क्याम्पसभित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाहरुले कुनै चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले उक्त राजमार्ग केही बेर अवरुद्ध गरेका हुन् । उनीहरुले ‘क्याम्पस प्रशासन मुर्दावाद, चित्तल मार्न पाइदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्ने जस्ता नारावाजी लगाएर राजमार्ग अवरुद्ध गरेका थिए । क्याम्पसको जंगलमा रहेका वन्यजन्तुहरुको संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासान, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाई छ । उनीहरुले क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनु पर्ने, सडक क्षेत्रको भु–भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनु पर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नु पर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायतका माग रोखका छन् । फरेष्टी क्याम्पसमा पछिल्लो एक हप्तामा मात्रै तीन वटा चित्तल मृत अवस्थामा भेटिएको उनीहरु बताउँछन् । क्याम्पस परिसरमा आईतबार एउटा चित्तल मृत फेला परेसँगै हप्तामा तीन वटा चित्तल फेला परेको हो । विद्यार्थीहरुका अनुसार, फरेष्टी क्याम्पस परिसर भित्र लकडाउन यता मात्रै १६ वटा चित्तल मृत अवस्थामा भेटिएको छ ।