एक घर एक धारा अभियानलाई तीव्रता

१६ चैत्र, हेटौंडा । बागमती प्रदेशले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ ।
प्रदेशले आगामी पाँच वर्षभित्र आफ्नो प्रदेश भित्रका १३ वटा जिल्लाका सबैको घरमा धारा जोड्ने अभियानअन्तर्गत प्रदेश स्थापना भएपछि हालसम्म ३३ वटा आयोजनाहरु सम्पन्न गरेको बताएको छ । यस्तै बागमती प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ मा १८ वटा आधरभुत खानेपानीको आयोजना र आर्थिक वर्ष २०७६÷०७७ मा १५ वटा आधरभुत खानेपानीको आयोजना गरी ३३ वटा आधरभुत खानेपानीका आयोजनाहरु सम्पन्न गरेको बागमती प्रदेश खानेपानी तथा सरसफाई महाशाखा प्रमुख रविन श्रेष्ठले बताउनुभयो । यसैगरी उक्त आयोजनाबाट ७४ हजार १ सय ५३ जना मानिसहरु लाभान्वित भएको उहाँले बताउनुभयो । यसैगरी आर्थिक वर्ष २०७५÷०७६ देखी खानेपानीका गुणस्तर सुधार आयोजना २८ वटा आयोजना रहेको र २४ वटा ढल निर्माणका निर्माधिन अवस्थामा आयोजना रहेको उहाँले बताउनुभयो । यसैगरी प्रदेशतर्फको आर्थिक वर्ष २०७७÷०७८ मा ५ सय ५७ वटा खानेपानी आयोजना र संघिय ससर्त तर्फको ६ सय २४ वटा आयोजनागरी १ हजार १ सय ८१ वटा खानेपानीको आयोजना निर्माणधिन अवस्था र निर्माणको पक्रियामा रहेको महाशाखा प्रमुख रविन श्रेष्ठले बताउनुभयो । यसैगरी चालुआर्थिक वर्षमा थप २५ वटा आयोजना सम्पन्न गरेको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियानलाई आफ्नो निती तथा कार्यक्रममा समावेश गर्दै चालुआर्थिक वर्ष २०७७÷०७८ मा १ अर्ब ९० करोड ५५ लाख बजेट बिनियोजन गरेको थियो भने संघको ससर्त अनुदान केन्द्रले ६२ करोड १५ लाख रहेको थियो ।