नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न

२२ चैत्र, हेटौंडा । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा भुतपुर्व सैनिक सम्मेलन आईतबार भएको छ ।
हेटौंडाको सुपारेटार व्यारेकमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७७ को प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि यस्तो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । यस्तै थापाले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पु¥याउनु भएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताउनु भयो । साथै, सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सहित अधिकतम संख्यामा बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरुलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरुको नेपाल सरकारसँग समन्वय र स्विकृती लिई अगाडि बढाइने नीति लिएको बताउनु भएको थियो । “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार“ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा मकवानपुर ,चितवन ,धादिङ्ग ,बारा , रौतहट, रसुवा ,नुवाकोट , पर्सा , गरी ८ वटा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण गरिएको थियो ।