फुटबल एकेडेमी सञ्चालनको लागि गणेश थापासंग भएको सम्झौता रद्ध

१४ असोज, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापासँग हेटौंडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने गरी गरेको सम्झौता रद्ध गरेको छ ।
नगरपालिकाले गत असोज १२ गते थापासम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग फुटबल एकेडेमी तथा खेलाडी प्रशिक्षण गर्ने भन्दै कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको थियोे । पूर्व अध्यक्ष थापा पदमा हुँदा पदको दुरुपयोेग गरी आर्थिक अनियमितता गरेकोमा दोषी ठहर गर्दै विश्व फुटबल महासंघ (फिफा) ले प्रतिवन्ध लगाएको व्यक्ति आवद्ध रहेको संस्थासँग सम्झौता गरेको भन्दै हेटौंडा उपमहानगरपालिकाको आलोचना भएको थियो । सम्झौताको बिषयलाई लिएर सर्वत्र आलोचना भएपछि उपमहानगरपालिकाले बिहीबार एक सुचना जारी गर्दै नेपाल स्पोर्टस अर्गनाइजेसनसँग भएको सम्झौता रद्ध भएको जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाले नगर सभाबाट चालु आर्थिक बर्षको बजेट पारित गर्ने क्रममै गणेश थापासम्वद्ध संस्थासँग साझेदारी गर्ने निर्णय गरेको थियो । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले २०७२ साल कात्तिक ३० गते गणेश थापालाई १० वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।