मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता

२२ असोज, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते आइतबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले ३० दिनभित्र अर्थात् २४ असोजमा प्रदेश सभाबाट विश्वासको मत लिन आज शुक्रबार दिउँसो ३ बजे विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएसँगै विश्वासको मत लिने निश्चित भएको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना बुझाउनु भएको हो । मुख्यमन्त्री शाक्यको तर्फबाट अर्यालले बुझाएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेर सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङलाई जानकारी गराइसकेको सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । पत्र बुझ्दै सचिव खड्काले असोज २४ गते दिउँसो ११ बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सूचनाको पत्र पेस गरिने र समितिको निर्णयानुसार प्रक्रिया अघि बढाइने बताउनुभयो । शाक्यले विश्वासको मत लिने तयारीस्वरूप असोज २४ गते दिउँसो ३ बजे प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्नुभएको थियो ।