एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ ।

जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय आएसँगै कोरोना महामारी पनि बाँके आइपुग्यो । त्यही बेलादेखि हो, बाँकेमा कसैलाई समस्या पर्नासाथ उनको कोभिड नम्बरमा फोन आइहाल्छ ।

यो अवधिमा संक्रमित व्यवस्थापन गर्ने क्रममा नरेश श्रेष्ठ कति रात अनिदो भए गन्ति छैन । तर एकजना सरकारी कर्मचारी असल नियतले खट्यो भने कति पर्दोरहेछ भन्ने बाँके र आसपासका क्षेत्रका मानिसहरुले अनुभूत गर्न पाएका छन् ।

****

गत ११ चैतमा लकडाउन सुरु भएपछि नरेश श्रेष्ठहरु समक्ष दुईवटा चुनौती खडा भयो– विभिन्न अप्ठ्याराका बीच स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने र भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न ।

गाडी, प्लेन केही नचल्ने भएपछि स्वाब संकलन गरेर नियमितरुपमा काठमाडौं पठाउन लगभग असम्भव हुनपुग्यो । ‘पाँचौ दिनमा नेपाली सेनाको प्लेन चार्टर्ड गरेर स्वाबका सातवटा नमुना काठमाडौं पठायौँ, जसको रिपोर्ट सबै नेगेटिभ देखियो’, श्रेष्ठ भन्छन्, ‘निकै खर्चिलो भएपछि सुर्खेत, धनगढीलगायत जिल्लाका स्वाब पनि एउटै प्लेनमा पठाउन थाल्यौं ।’

त्यही बेला संक्रमणयुक्त क्षेत्र भारतबाट घर फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्न हम्मेहम्मे पर्‍यो । सीमा नाकासम्म आइपुगेकाहरु रातको समयमा लुकेर नेपाल प्रवेश गर्थे । श्रेष्ठ भन्छन्, ‘रातभर सीमामा कुरेर उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्‍यायौं ।’

एकपटक धेरै मानिस आउँदा कतिपय क्वारेन्टिन भद्रगोल बन्यो । ‘क्वारेन्टिनमा यति धेरै चाप भयो कि नरेनापुरमा दैनिक १३७ जनासम्मलाई डिस्चार्ज गर्‍‍यौं’, उनी भन्छन्, ‘सबैलाई १४ दिनमा आरडिटी परीक्षण गरेर पठायौं ।’

जलनपुर क्वारेन्टिनमा १९ वैशाखमा पहिलो पटक ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित देखिएपछि नेपालगञ्जमा सन्नाटा छायो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत संक्रमितलाई आइसोलेसन पुर्‍याउन डराए । ‘अन्त्यमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा र म गएर उनलाई अस्पताल पुर्‍यायौँ’, श्रेष्ठ भन्छन्, ‘उनलाई मैले एउटा मोवाइल सेट पनि दिएँ । कन्ट्याक्ट ट्रेसिङका लागि १२२ जनाको लिस्ट तयार पारेर स्वाब संकलन गराएँ । उनीहरुमध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आयो ।’

त्यसयता उनको टिम दैनिक पीसीआर टेष्ट गर्न र संक्रमितलाई अस्पताल पुर्‍याउन निरन्तर खटेको छ । अहिले त नेपालगञ्जमै तीनवटा पीसीआर ल्याब छन् । स्वाब संकलनमा श्रेष्ठ आफैं खट्ने हुनाले विहानैदेखि उनको दौडधुप सुरु हुन्छ । उनी भन्छन्, ‘विहानै आइसोलेसनमा भएका संक्रमितको अवस्था बुझेर डिस्चार्ज हुने सूची तयार पार्ने काम पनि हुन्छ ।’

बाँकेका अस्पतालहरुमा १४२ वटा आइसोलेसन बेड छ । २४ वटा आईसीयू र ८ भेन्टिलेटर छन् । कहाँ कति संक्रमित छन्, कहाँ कति बेड खाली छन्, श्रेष्ठलाई एक-एक थाहा हुन्छ । संक्रमितको अवस्थाअनुसार अस्पताल व्यवस्थापन गर्ने उनी होम आइसोलेसनमा बसेकाहरुको बेलाबेलामा अपडेट पनि लिन्छन् ।

वेलुका पाँचदेखि ६ बजेसम्म गरीब र सीमान्तकृत समुदायको निःशुल्क स्वाब संकलन गर्न जिल्ला प्रशासन कार्यालय अगाडि पुग्छन् । दैनिक २० देखि ४० जनासम्मको निःशुल्क स्वाव संकलन र परीक्षण गरिरहेको उनले बताए ।

हरेक दिन बेलुका सातदेखि आठ बजेसम्म तीन वटा ल्याबमा भएको टेष्टको रिपोर्ट आउँछ, जसको जिल्ला प्रशासनदेखि स्वास्थ्य मन्त्रालयसम्म रिपोर्टिङ गर्छन् । ‘राति ११ बजे अगाडि घर फर्कने अवस्था छैन’, श्रेष्ठ भन्छन्, ‘घर गइसकेपछि पनि फोन त मध्यरातसम्म आइरहन्छ । आएको फोन उठाउनैपर्‍यो ।’

केही दिन पहिले सुत्केरी व्यथा लागेकी एक संक्रमितलाई कोहलपुर मेडिकल कलेजले फर्कादिएपछि भेरी अस्पताल ल्याइएको रहेछ । त्यहाँ पनि बेड नभएको भन्दै राखिएन । राति ११ बजे श्रेष्ठले फोनमार्फत त्यो जानकारी पाए । श्रेष्ठ नै सकृय भएर दुई बजे संक्रमितलाई बेडको व्यवस्था गरे ।

एक रात तीन बजे आएको फोनले भेरी अस्पतालको आइसोलेसनमा संक्रमितको मृत्यु भएको खबर दियो । शव व्यवस्थापनका लागि नेपाली सेना र मृतकको आफन्तसँग समन्वय गर्दागर्दै घाम झुल्कियो । ‘हामी यसरी खटेकाले पनि बाँकेमा कोरोना धेरै फैलिन पाएको छैन’, जनस्वास्थ अधिकृत श्रेष्ठ भन्छन्, ‘उपयुक्त समयमा सही व्यवस्थापनका लागि संघर्ष गरिरहेका छौं ।’

नरेश श्रेष्ठहरुकै सक्रियतामा बाँकेका अस्पतालहरुमा भर्ना भएका गम्भीर अवस्थाका कोरोना संक्रमितहरुलाई आवश्यकताअनुसार रेमडिसिभिर औषधि दिइएको छ । २८ जनालाई प्लाज्मा दिइएको छ । उनीहरुमध्ये १३ जनाको ज्यान बचेको छ ।

****

नरेश श्रेष्ठलगायतको पहलकदमीबाट जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको आफ्नै एम्बुलेन्स छ । यसबाट संक्रमित व्यवस्थापन गर्न धेरै सहज भएको छ ।

गत महिना बर्दियाका १५ वर्षीय संक्रमितको मृत्यु भयो । उनका बाबुले भने, ‘मैले दुःख गरेर हुर्काएको छोरालाई एकपटक आँगनमा राख्ने धोका पूरा गरिदिनुस् ।’

श्रेष्ठको टिमले बाँकेबाट शव लगेर बाबुको इच्छा पूरा गरिदियो । आफ्नै एम्बुलेन्स हुँदा त्यो सम्भव भयो । ‘अब शव बाहनको व्यवस्था पनि हुँदैछ’, श्रेष्ठ भन्छन्, ‘हाम्रो काम मन पराएर यूएसआईडीले शव वाहन सहयोग गर्ने भएको छ ।’

श्रेष्ठले गैरसरकारी क्षेत्रबाट थुप्रै सहयोग जुटाएका छन् । सरकारी स्रोतबाट मात्र यतिको काम गर्न नसकिने उनी बताउँछन् । सबै जना लागिपरेर परिणाममुखी काम गर्न सक्दा स्रोतको अभाव पनि नहुने उनको अनुभव छ । यही कारणले उनलाई कोरोनाकालको बाँकेमा सम्झनालायक पात्र बनाएको छ ।