हेटौंडा भेट्रान्स कपको उपाधि एविसी पोखरालाई

३ पुस, हेटौँडा । हेटौंडामा सम्पन्न सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जितेको छ ।
हेटौँडा ५ क्याम्पा चौरमा भएको फाइनल खेलमा नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा उपाधि जित्न सफल भएको हो । खेलको सातौं मिनेटमा हरि खड्काले गरेको गोलबाट पोखराले सुरुवाती अग्रता लिएको थियो तर खेलको १७ औं मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा पोखराको तर्फबाट नरेन्द्रजंग गुरुङले थप एक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । खेलमा थप गोल हुन नसकेपछि पोखरा उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच पोखराका नरेन्द्रजंग गुरुङ घोषित भए । उपाधिसंगै पोखराले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त प्राप्त गरेको छ भने उपविजेता बनेको नागस्वती भेट्रान्सले नगद ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडलमा चित्त बुझायो । खेलको उत्कृष्ट गोल किपर पोखराका सुर्य शर्मा, प्रशिक्षक पोखराकै सुरज गुरुङ, मिड फिल्डर पोखराकै महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी पोखराकै विश्वराज श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भए । विजेता र उपविजेता टोलीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।