स्वास्थ्य मापदण्ड अपनाएर छठ मनाउन प्रशासनको आग्रह

४ मंसिर, हेटौंडा । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व बुधबारबाट सुरु भएको छ ।


विशेषतः तराई समुदायको पर्वको रुपमा बुझिदै आएको भएपनि पछिल्ला केही वर्षयता छठ पर्वमा पहाडी समुदायको पनि उत्तिकै सहभागिता देखिन थालेको छ । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको पनि छठ पर्वलाई लिन सकिन्छ । यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को प्रभावको कारण सागरमा भव्य व्यवस्थापनका साथ मनाइने छठ पूजा भने प्रभावित भएको छ । मकवानपुर जिल्ला प्रशासनले सागरमा भिडभाड गरेर पूजामा सहभागी नहुन आग्रह गरेपछि पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको छैन । प्रतिघरबाट एक जना व्रतालु र एक जना सहयोगी मात्रै आफ्नै व्यवस्थापनमा सागर जान पाउने गरी आन्तरीक तयारी गरिएको छठ पुजा समारोह समितिका सचिव नन्दलाल दासले बताउनुभयो । कोरोना महामारीका बिच भिडभाड गर्ननहुने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सागरमा तामझाम गर्न रोक लगाएको छ । चाडपर्वमा पुर्ण प्रतिबन्ध लगाउन नसकिने तर अनावश्यक भिडभाड गरेमा प्रहरी परिचालन गरी भिडभाड नियन्त्रण गन मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताउनुभयो । छठपर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भई कार्तिक शुक्ल सप्तमीको विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।