राष्ट्रपतिद्वारा संसद् विघटन, नयाँ निर्वाचन २०७८ वैशाख १७ र २७ मा

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यताबमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा दुई चरणमा गर्ने गरी तोकिएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।