कम्युनिष्टहरुको सत्तामोहकै कारण मुलुक संकटमाः नेतृ भुसाल

१३ पुस, हेटौंडा । नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीका नेताहरुमा देखीएको सत्तामोहकै कारण मुलुकसंकटमा परेको दावी गर्नुभयो ।

नेपाली कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा भएको विरोध कार्यक्रममा बोल्दै सचेतक भुसालले सरकारको असंबैधानिक कदम विरुद्ध कांग्रेले खबरदारी गरिरहेको बताउनुभयो । उहाँले सरकारका गलत क्रियाकलाप अन्त्य नभएसम्म निरन्तर कांग्रेसले खबरदारी गरीरहने दावी गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जनताको छोरा छोरी राष्ट्रपति हुने गणतन्त्रात्मक ब्यबस्था मै आघात पुग्ने गरी सरकारले जनमतको अपहेलना गरी संसद विघटन गरेको बताउनुभयो । जनताको मतलाई कमुनिष्ट सरकारले अपहेलना गरेको उहाँले तर्क गर्नुभयो । नेपाली कांग्रेसले देशभरीको एक सय ६५ निर्वाचन क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै प्रदर्शन गरेको हो ।