राजीनामा नदिएको गाउँपालिकाका उपाध्यक्ष विष्टको दाबी

१९ पुस, हेटौंडा । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजीनामा स्वीकृत भएका गाउँपालिका कार्यालयले जनाएको छ ।
विष्टको राजीनामा पुस १७ गते शुक्रबार स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । बिष्टले गाउँपालिकाको अध्यक्ष तथा कर्मचारीबाट पछिल्लो डेढ बर्षदेखि अपमानित हुनुपरेको गुनासो गर्दै राजीनामा बुझाउनुभएको थियो । यसअघि उपाध्यक्ष बिष्टले पदबाट राजीनामा दिँदा कर्मचारीहरुका बारेमा लगाएको आरोप र लान्छानाको गाउँपालिकाले खण्डन गरेको कार्यकारी प्रमुख देवराज चौलागाईले बताउनुभयो । उपाध्यक्षको राजीनामा अध्यक्षले स्विकृत गरेपछि कहाँ कसरी कुनकुन निकायलाई जानकारी दिनुपर्ने भन्ने विषयमा कार्यालयमा कर्मचारीहरुबीच छलफल भईरहेको उहाँले बताउनुभयो । उपाध्यक्ष बिष्टले आफुले राजिनामा नदिएको दावी गर्नुभएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले आफुले अध्यक्षलाई राजिनामा नबुझाएको जिकीर गर्नुभयो । गाउँ कार्यपालिकाको बैठकमै राजीनामाको विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यमले अफवाह फैलाएको भन्दै खण्डन गर्ने निर्णय नै गरेर खण्डन गरिएको थियो । त्यो खण्डनले पनि आफुले राजीनामा नदिएको विषय स्पष्ट पार्ने उहाँले दावी गर्नुभयो । यता गाउँपालिका कार्यालयले भने उपाध्यक्षको राजीनामा अध्यक्षले स्विकृत गरी कार्यालयमा दर्ता भईसकेको बताएको छ ।