राजीनामा दिएर पनि मन्त्री स्तरीय निर्णयका फाइल बुझाएन

२७ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वासको प्रस्ताबक बनेका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले मन्त्री स्तरीय निर्णयका फाइल मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएका छैनन् ।

प्रस्ताबक बस्नु अघि मन्त्री पदबाट राजिनामा बुझाएका मन्त्री कट्टेलले फोन गरेर फाइल बुझाउने जानकारी दिनुभएको मुख्यमन्त्रीको निजी सचिव सुनिता गजुरेलले बताईन् । यस्तै राजिनामा बुझाएका सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले भने मन्त्री स्तरीय निर्णयका फाइल मुख्यमन्त्री कार्यालयमा बुझाईसकेका छन् । हाल यी तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हालीरहनुभएको छ । पदबाट राजीनामा दिएपछि मन्त्री स्तरीय निर्णयका फाइल मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउनु पर्ने कानूनी ब्यवस्था छ । मन्त्री पदबाट राजिनामा दिएर संसद सचिवालयमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताबक जम्मकट्टेल बनेका थिए । अविश्वासको प्रस्ताबलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले समर्थन गरेका थिए ।