अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन

६ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्ताव सदनमा टेबुल गर्ने बारे निर्णय गर्न कार्यविधि मस्यौदा समिति गठन भएको छ ।

मंगलबार सभामुख सानुकमाुर श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो । बैठकले नेकपाका मूख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरी खड्का रहेको समिति गठन गरेको छ । आज बसेको परामर्श समितीको बैठकले बुधबारको प्रदेश सभा बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौं अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखत सहितको मत विभाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्ने कार्यसूचिमा सहमति भएको परामर्श समितिका सदस्य समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता छिरिङदोर्जे लामाले बताए ।