हेटौंडा १० का कृष्णबहादुर कार्की सडकपेटीमा बसेर सहयोग माग्दै

१३ माघ, हेटौंडा । अपाङगता भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का कृष्ण बहादुर कार्की सिमाचोकको सडकपेटीमा बसेर सहयोग मागिरहेका छन् ।
घर बनाउने ठाँउमा मजदुरी गर्दे आएका कार्कीले केही वर्षअघी काम गर्ने क्रममा एउटा खुट्टा गुमाउन पुगे । शारिरिक रुपमै अशक्त भएपछि कार्कीले लामो समयदेखि सडकको पेटीमै बसेर सहयोग माग्दै आफ्नो र परिवारको जिविका चलाउँदै आएका छन् । कार्कीको परिवारमा श्रीमती र ४ जना छोराहरु छन् । श्रीमती पनि बिरामी रहेको र २ जना छोराको विद्यालय भर्ना गर्ने उमेर भएता पनि आर्थिक स्थिति कमजोर भएकाले विद्यालय भर्नासमेत गर्न नसकेको कार्कीले बताउनुभयो । बाँकी दुईजना छोरा सानै उमेरको रहेको उहाँको भनाई छ । दैनिक एक सयदेखि २ सय रुपैयाँसम्म संकलन हुने सहयोग रकमले गुजारा चलाउने गरेको उहाँले बताउनुभयो । भाडाको घरमा बसिरहनुभएका कार्कीको परिवारमा कमाउने अन्य व्यक्ति नहुँदा जीवन निकै कष्टकर बनिरहेको छ । संविधानमा मौलिक हकको रुपमा गाँस, बास, कपासको व्यवस्था गरिएता पनि वास्तविक जीवनमा भने यसको महसुस गर्न नपाएको उहाँले बताउनुभयो । आफू एक नेपाली नागरिक भएको र यो देशको एउटा मतदाता रहेको भन्दै आफूलाई परेको समस्याप्रति कसैले वास्ता नगरेकोमा कार्कीले दुःख व्यक्त गर्नुभयो । उहाँले विभिन्न व्यक्तिहरुले सहयोग गर्ने भन्दै आउने र आश्वासन दिएपनि कसैले पनि पूरा नगरेको बताउनुभयो ।