मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभीलाई

२१ माघ, हेटौंडा । मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभीले जितेको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा रेडियो सन्देशलाई ट्राइब्रेकरमा पराजित गर्दै टेलिभिजनले उपाधि जितेको हो । यसअघि निधारीत समयमा दुबै टिमले २–२ गोलको बराबरी खेलेको थियो । खेलको पहिलो हाफमा टिम टिभीसंग २–० को गोल अन्तरले पछि परेको रेडियो सन्देशले दोस्रो हाफमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुबै टिमले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो । ट्राइब्रेकरमा दुबै टिमका ३–३ जना खेलाडी प्रहार गरे तर दुबै टिमका २–२ वटा प्रहार मात्र गोलमा परिणत भयो । त्यसपछिे रेडियो सन्देशका तर्फबाट रेडियोका संचालक सुनिल खड्काको प्रहार बिफल बन्दा टिम टिभीका तर्फबाट कुमार अधिकारी ‘पोष्टराज’को प्रहार गोलमा परिणत भएको थियो । मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो भने टिम टिभीले सक्रिय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराएको थियो । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।