पहिलो चरणको कोरोना खोप ५५ हजार ८ सय ७८ जनाले लगाए

२३ माघ, हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जानकारी दिएको छ ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा दिएको बताइएको हो । खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको छ । तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । तीनसय ३४ जनामा भने खोपले सामान्य असर देखाएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिकले खोप सेवा लिएका छन् । आयुर्वेदमा समेत मानिसहरुको रुची बढ्दै गएकाले सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना भएको छ । कार्यक्रममा निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले गाउँ घर क्लिनिकले गाउँ स्तरबाट स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिती थियो ।