माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती हस्तान्तरण

४ माघ, हेटौंडा । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती बनेको हो । बस्ती निर्माणका लागि पालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो ।बस्ती हस्तान्तरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माझी समुदायले सुरक्षित घर प्राप्त गरेपछि आवासमा सहजता हुने र जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानोमुक्त कार्यक्रममार्फत् काम गरिरहेको बताउनुभयो ।उहाँले प्रदेश सरकारका आवासविहीन नागरिकहरुलाई व्यबस्थितरुपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जेलामाको पहलमा रामेछापमा पहिलो नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको हो ।