कांग्रेसको सुभेच्छुक संस्थाहरुको हेटौंडामा प्रदर्शन

२४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सुभेच्छुक संस्थाहरुको आयोजनामा शनिवार हेटौंडामा विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंबैधानिक कदमको विरुद्धमा हेटौंडामा पनि सुभेच्छुक संस्थाहरुले प्रदर्शन सहित सभाको आयोजना गरेका हुन् । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लामिछानेले सर्पलाई जतिनै दुध पिलाएपनि बिष नै ओकल्ने बताउँदै दुईतिहाई नजिकको बहुमत पाएर पनि कम्युनिष्टहरुले संसद विघटन गरेर आफ्नो चरित्र देखाएको आरोप लागए । ओली र प्रचण्डको अपवित्र गठबन्धनका कारण देश समस्यामा परेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष लामिछानेले अब नेपाली जनताले सत्य के हो भन्ने बुझ्नुपर्ने बेला आएको बताए । उनले विगत देखिनै हरेक राजनितिक समस्याको निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै अहिलेको समस्याको निकास पनि कांग्रेसले नै दिने दावी गरे । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा लागाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक संघ मकवानपुरका अध्यक्ष राजबाबु पहाडी, वनसम्पदा उपभोक्ता राष्ट्रिय महासंघका शिवबहादुर भण्डारी लगाएत नेपाली कांग्रेसका विभिन्न सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।