५ जना सरकारी साक्षी बकपत्रका लागि झिकाउन उच्च अदालतको आदेश

३ फागुन, हेटौंडा । गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तब्य ज्यान मुद्दाको फैसल्ला भएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले ५ जना सरकारी साक्षी बकपत्रका लागि झिकाउने आदेश गरेको छ ।

न्यायधिश शेषराज शिवाकोटी र चण्डीराज ढकालको इजलाशले फागुन २ गते सरकारी साक्षीहरु गौरीमाया अधिकारी, रुपा रेग्मी लोकनाथ दाहाल, ठाकुर प्रसाद अधिकारी, प्रहरी नायब उपरिक्षक सञ्जय राउत र प्रहरी सहायक निरिक्षक बुद्धी चौधरीलाई बकपत्रका लागि झिकाउने आदेश गरेको छ । आदेश अनुसार चितवन जिल्ला अदालत र प्रहरीलाई साक्षी उपस्थित गराउन पत्र पठाईएको उच्च सरकारी वकीलको कार्यालय हेटौँडाले जनाएको छ । गोर्खा फुजेलका अधिकारीको २०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका स्थित हजुर वुवा हजुरआमा भेट्न आउनेक्रममा हत्या भएको थियो । हत्यामा जाहेरी दिएका पीता नन्द प्रसाद अधिकारीको मृत्यु भईसकेको छ । नन्द प्रसाद अधिकारी र उनकी श्रीमती गंगामाया अधिकारी छोराको हत्यारालाई कारवाहीको माग गर्दै लामो समय अनसन बसेका थिए । नन्द प्रसादको अनसनकै क्रममा मृत्युभएको थियो , भने आमा गंंगामाया अहीलेसम्म छोराको हत्यारालाई कारवाहीको माग गरिरहेकी छिन् ।