पटकपटक सूचना टाँसेर बैठक स्थगित गर्नु संघीयताको मर्ममाथि प्रहारः नेतृ शाक्य

५ फागुन, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बिहान सूचना टाँसेर स्थगित गरेको विषयमा दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरेर विरोध जनाएको छ ।
प्रदेशसभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गर्दे दाहाल–नेपाल समूहले बैठक स्थगित गरेको भन्दै विरोध जनाएको हो । दाहाल नेपाल समुह बागमती प्रदेश संसदीय दलकी नेत्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको बैठक पटकपटक सूचना टाँसेर स्थगित गर्नु संघीयताको मर्ममाथि प्रहार भएको दाबी गर्नुभएको छ । अल्पमतमा रहेको सरकारको दबाबमा आएर सभामुखले प्रदेशसभाको बैठक पटकपटक स्थगित गर्नु संघीयता मर्ममाथिको प्रहार भएको नेत्री शाक्यले ठहर गर्नुभयो । नेत्री शाक्य सहित दहाल नेपाल समुहका प्रदेश सभा सदस्यहरुले सभामुखले सत्तापक्षको दबाबमा बैठक स्थिगित गरेको भन्दै उपसभामुख मार्फत प्रदेश सभा सचिवलाई विरोध पत्र बुझाएका हुन् । उहाँले अल्पमतमा रहेको सरकारको संरक्षण नगर्न र दबाबमा नपरी तत्काल बैठक बोलाउन समेत सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गर्नुभयो । मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरेको नेत्री शाक्यको टिप्पणी छ । मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताब टेबुल गरीएपछि प्रदेश सभाको बैठक दुई पटक सुचना टासेर स्थगित भएको छ ।