हेटौंडामा राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप

१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको सडक सुचारु गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।


सवारी दुर्घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेपछि सुचारु गर्न पुगेको प्रहरी र पीडित पक्षबीच झडप भएको हो । दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएपछि रोकिएका सवारीलाई स्कर्टिङ गरेर प्रहरीले लैजान खोजेपछि स्थानीयले अवरोध गरेका थिए । यस क्रममा दुई पक्षबीच झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरी राजमार्ग सुचारु गरेको थियो । पीडीतलाई न्याय दिलाउन राजमार्ग अबरोधका लागि आएका स्थानीयसंग छलफल गरी राजमार्गको अवरोध हटाईएको प्रहरीको दावी छ । बिहीबार बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा–११ मा ठक्कर दिंदा मयुरी चालक स्थानीय ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको थियो । मृतकका परिवारले सवारी धनीलाई तत्काल झिकाई पीडीतलाई क्षतिपुर्ती दिलाउन र सवारी चालकलाई कारवाही गर्न माग गरेका छन् ।