हेटौंडामा हुने शहीद स्मृति गोल्डकपको तयारी पूरा

२६ फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा बिहीबारबाट सुरु हुने स्थानीय तह शहीद स्मृृति गोल्डकप फुटबलको तेस्रो संस्करण २०७७ को सम्पूर्ण तयारी पूरा भएको छ ।


बुधबार जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गर्दै हेटौंडामा भोलि बाट सुरु हुने प्रतियोगिताको लागि सबै कामहरु सकिएको बताएको हो । आयोजकले ४ हजार जनाले खेल हेर्न सक्नेगरी मैदानमा फलामको प्याराफिटको निर्माण गरेकोे छ । चौरको सतह मिलाइएको छ भने चौरमा पानी हालेर हरियाली बनाइएको छ । मकवानपुर जिल्ला फुटबल संघले फागुन २७ गतेबाट चैत्र ७ गतेसम्म हुने प्रतियोगितामा दर्शकलाई टिकटको व्यवस्था गरेको छ । नकआउट चरणमा प्रतिव्यक्ति एक सय रुपैयाँ, सेमिफाइनलमा प्रतिटिकट २ सय रुपैयाँ र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकटको मूल्य तोकिएको स्थानीय तह शहीद स्मृृति गोल्डकप फुटबलका कार्यक्रम संयोजक प्रताप विष्टले जानकारी गराउनु भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो साढे ३ बजेबाट रिगल हेटौंडा रिसोर्ट र नवजागृती युवा क्लब सिमरा बिच हुने आयोजकले बताएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी विभिन्न दशवटा टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।