संस्कार आफ्नै आफ्नै

२८ फागुन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले पत्रकारहरुलाई अशिष्ट शैलीमा अभिव्यक्ति दिएको भन्दै मकवानपुरका सञ्चारकर्मीहरुले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार कृष्ण अग्रवालले आयोजना गरेको पत्रकार सम्मेलन बहिष्कार गरेका छन् ।
अध्यक्षका उम्मेदवार अग्रवाल र संघका अध्यक्ष कृष्ण कटुवालले सभ्य शैलीमा आफ्ना कुरा राखेपछि मन्तब्यका लागि आएका सुमार्गीले बोलीरहँदा पत्रकारहरु धैर्यता पूर्वक सुनीरहेका थिए । पत्रकारहरुलाई अशीष्ट शैलीमै अभिब्यक्ति दिनथालेपछि अग्रज पत्रकार र पत्रकार महासंघका अध्यक्षले नै उद्देश्य बाहीर गएर जथाभावी अभिब्यक्ति नदिन आग्रह गरे । सञ्चारकर्मीको आग्रह विपरित सुमार्गी बोलीरहेपछि कार्यक्रम स्थलबाटै पत्रकारहरु बाहीरिएका थिए । पूर्व अध्यक्ष समेत रहेका सुमार्गीले उम्मेदवार कृष्ण अग्रवाललाई समर्थन गर्न बोलीरहँदा उनले उम्मेदवार अग्रवाललाई समेत शुद्दीकरण गरेर उम्मेदवार बनाएको भन्दै आफैले समर्थन गरेको उम्मेदवारको अपमान गरे । अग्रवाललाई डमी अध्यक्ष बनाएर सुमार्गीले नै मकवानपुर उद्योग वाणिज्य संघमा आफ्नो हालीमुहाली गर्ने हुन् की भन्ने आशंका बढीरहेका बेला सार्वजनिक समारोहमै सुमार्गीले पत्रकारहरुकै सामुन्ने अग्रवाललाई नै अपमान हुनेगरी दिएको अभिब्यक्तिले ब्यवसायीहरुको शंकामा बल पुगेको छ ।

न्यौपानेले माफी मागे
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरका सञ्चारकर्मीहरुसंग माफी मागेका छन् ।
संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले सञ्चारकर्मीहरुलाई अशीष्ट ब्यवहार गरेको सुनेपछि न्यौपानेले माफी मागेका हुन् । संघका अध्यक्ष कृष्ण कटुवाल रहेकै मन्चमा सञ्चारकर्मीमाथि केन्द्रीय सदस्य सुमार्गीले अशिष्ट शब्द प्रयोग गरेकोमा संघको निवर्तमान अध्यक्षको हैसियतले आफुले सञ्चारकर्मीहरुसंग क्षमा याचना गरेको न्यौपानेले बताए । संघको गरिमामय पदमा बसेका ब्यक्तिहरुबाट असावधानीबस भएका सामान्य कमीकमजोरीलाई गलत रुपमा नबुझ्न न्यौपानेले मकवानपुरे सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको सञ्चार जगत प्रति सदैब उच्च सम्मान रहेको न्यौपानेले बताए । एकाध घटनालाई देखाएर सञ्चारकर्मी र मकवानपुर उद्योग वाणिज्य संघबीच दुरी बढाउन नहुने भन्दै न्यौपानेले सबै सञ्चारकर्मीहरुलाई उत्साह पुर्वक महासंघको साधारण सभा सफल पार्न आग्रह गरे ।