११ औँ जिल्ला स्तरीय छनौट प्रतियोगिता आईतवारबाट सुरु

२९ चैत्र, हेटौंडा । मकवानपुरमा राष्ट्रपति रनिङशिल्ड ११ औँ जिल्ला स्तरीय छनौट प्रतियोगिता आईतवारबाट सुरु भएको छ ।
हेटौँडा–४ स्थित हुप्राचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । एथलेटिक्स तर्फको सटपुट खेल खेलेर प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाभित्रका बिद्यार्थीहरुको सहभागिता छ । छात्र÷छात्राको भलिबल, र एथलेटिक्सका खेलहरू हुप्रचौरमा भइरहेको छ भने कबड्डीका खेलहरू हेटौँडा–४ स्थित कभर्डहलमा भइरहेको छ । कोभिडको कारण प्रतियोगिताका खेलहरु छरितो बनाउन मार्सल आर्टको खेल सम्पन्न भइसकेको समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितेरियो कराँते, तेक्वान्दो र उस्सु खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको उद्घाटन कार्याक्रममा जिल्ला खेलकुद विकास समितिले आधुनिक राष्ट्रिय मावि हेटौँडा–४ का प्रधानाध्यापक बिरबंश बैठालाई सम्मान गरेको छ । केही समय अघि मात्र एसियाकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएका बैठालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको हो ।