सार्वजनिक स्थान र कार्यक्रमहरुमा २५ जनाभन्दा बढी भेला हुन नपाईने

७ वैशाख, हेटौंडा । मकवानपुर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले केन्द्र सरकारले गरेको निर्णयलाई पालना गराउने भएको छ ।


प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिका भित्रको शैक्षिक संस्थाहरुमा बैशाख मसान्तसम्म भौतिक उपस्थिति नगराउने र अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । यसैगरी अन्य स्थानीय तहहरुले भने जोखिमको मुल्यांकन गरेर जनस्वास्थ्यको मापदण्ड पुरा गरेर पठनपाठन गराउन पाउने भएका छन् । यद्यपि विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षाहरु भने हुनेछन् । यस्तै जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्विमीङ पुल, रंगशालामा दर्शक सहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रमहरु सबै बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । यस्तै मेला, महोत्सब, जात्रा, विवाह आदीमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृती लिनुपर्ने अनिवार्य गरिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रुु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।