आइसोलेसन वार्डको तयारी सुरु

१४ वैशाख, हेटौंडा । कोरोना भाईरसको दोश्रो लहरले नेपाललाई समेत प्रभाव पार्न थालेपछि मकवानपुर जिल्लामा भने अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भैसकेको छ ।


मकवानपुरको १० स्थानीय तहमध्य ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भैसकेको र एक स्थानीय तहमा भने अबको एकहप्ता भित्र स्थापना भैसक्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । आज कोभिडको सन्र्दभमा मकवानपुरको तयारबारे भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताउनुभयो । उहाँले दोश्रो लहर अझ तिब्र गतिमा फैलिएको हँुदा स्वास्थ्य सावधानी अपनाउन पनि आम नागरिकलाई आग्रह गर्नुभएको छ । कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको छ । सुविधासम्पन्न उक्त आइशोलेसनको क्षमता १ सय ५० सम्म रहेको खुलालको भनाई रहेको छ । यसैगरि बागमती गाउँपालिकाले १० बेड, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तयार गरेका छन् ।