कोरोना उपचार कक्षको मुख्यमन्त्री पौडेलद्वारा निरीक्षण

१७ वैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललमा संचालनमा ल्याइएको कोभिड–१९ उपचार कक्षको निरीक्षण गर्नुभएको छ ।
शुक्रबार दिउँसोबाट संचालनमा ल्याइएको उपचार कक्षको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले उपचार कक्षमा आवश्यक सामग्रीहरु अपुग भए तुरुन्त माग गर्न निर्देशन दिनुभयो । हेटौंडा अस्पतालमा १४ बेडको हाइ डिपेन्डेन्सी (एचडियू) बेड निर्माण गरेको छ । यस्तै अस्पतालमा ६ बेड हाइ फ्लो अक्सिजनसहितको बेड निर्माण गरेर संचालनमा ल्याइएको छ । हेटौंडा अस्पतालमा अहिले ६ वटा भेन्टिलेटर रहेकामा ४ वटा प्रयोगमा आएको छ भने १७ आइसियू बेड रहेको छ । हेटौंडा अस्पतालले ५० जनासम्म गम्भिर प्रकृतिका कोभिड–१९ का बिरामीहरुलाई उपचार दिन सक्ने भएको छ । यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबारनै हेटौंडा–६ गौरिटारस्थित हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको आइसोलेसन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधि संचालन गर्न तयार भइरहेको भवनको निरीक्षण गर्नुभएको छ । उक्त अवसरमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको पनि सहभागिता रहेको थियो ।