आइतबार रातीदेखि मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द

१८ वैशाख, हेटौंडा । मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द हुने भएको छ ।


जिल्लामा कोरोना संक्रमितको संख्या एक्कासी बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयबाट व्यवसाय र सवारी बन्द हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोभिड आईसियूमा १७ जना संक्रमित उपचाररत रहेकोमा शनिवार ४ जना डिस्चार्ज भएका छन् । जसमा एकजना होम आइसोलेशनमा गएका छन् भने ३ जनालाई गौरीटार आइसोलेशनमा पठाइएको छ । होम आइसोलेशनमा बस्ने संक्रमितको संख्या ४ सय ९७ जना घरमै उपचाररत रहेका छन । साथै, गौरीटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । शनिबार ५४ जनाको स्वाब संकलन गरिएको छ ।