अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन गरिने

२० वैशाख, हेटौंडा । बागमती प्रदेशको पाँच जिल्ला अस्पतालमा ठूलो खालको अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन गरिने भएको छ ।


प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन सुरु गर्ने भएको हो । प्रदेशको सिन्धुली अस्पताल र त्रिशुली अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु भइसकेको सामाजिक विकास मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताउनुभयो । ‘प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दैछ । अहिले सिन्धुली जिल्ला अस्पताल र नुवाकोटको त्रिशुली अस्पतालमा अक्सिजनको ठूलो प्लान्ट राखिएको छ ।’ यसैगरी प्रदेशको धादिङ र भक्तपुर जिल्ला अस्पतालसँग अक्सिजन प्लान्ट राख्न सम्झौता भई उत्पादनको अन्तिम चरणमा पुगिसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा समेत ठूलो अक्सिजन प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ । प्रदेशको पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन दिन सकिने मन्त्रालयले बताएको छ । नुवाकोटको त्रिशुली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट राखेर प्रतिमिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको छ । सिन्धुली जिल्ला अस्पतालले जडान गरेको अक्सिजन प्लान्टले २४ घण्टामा १४ सय लिटर अक्सिजन उत्पाद गर्नसक्छ ।