अन्तरघात गर्ने १४ सांसद्लाई स्पष्टीकरण सोधियो

८ जेठ, हेटौँडा । हेटौंडामा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का सूर्य चिह्नबाहक आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई भोट नदिने बागमती प्रदेशका एमालेका सांसद्लाई कारबाहीको तयारी गरिएको छ ।
कारबाहीको शुरुवात स्वरुप प्रदेश सांसद्हरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । । ती प्रदेश सांसद्हरुलाई आइतबार अपराह्न ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । स्पष्टीकरण आएपछि थप कारबाहीबारे निर्णय हुनेछ । राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारप्रति अन्तरघात, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायत आरोप लगाएर प्रदेशसभा सांसद्हरुलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ को ९ (क), (ख), (ग), (घ) (र) ङ अनुसार अनुशासन उलंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । थापालाई हराउन भूमिका खेलेको भन्दै माधव नेपाल समूहका १४ सांसद्लाई एक दिने स्पष्टीकरण सोधिएको हो । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबारको बैठकले पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै प्रदेश सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मुख्यमन्त्रीसमेत रहनुभएका संसदीय बोर्ड अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको नीति र निर्देशनविरुद्ध लागेको भन्दै कारबाही प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । १५ सदस्यीय संसदीय बोर्ड प्रदेशसभा सांसद् शाक्य, पाण्डे र अरुण नेपाल पनि सदस्य रहनुभएको छ ।