बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२९ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।
शनिबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो । नीति तथा कार्यक्रममाथिको छलफल संशोधन प्रस्ताव दर्ता भए पनि बहुमत सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेपछि पारित भएको हो । शुक्रबार र शनिबार ४७ सांसद्ले उठाएको प्रश्नमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभएको थियो । जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर नीति तथा कार्यक्रम र बजेट लगायतका काम गर्न नहुने बताउनुभयो । संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले गरेको काम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सरकारले कोरोना नियन्त्रण, उपचार र आर्थिक सहायताका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेकाले सरकार प्रदेशवासीहरू प्रति प्रतिबद्ध रहेको बताउनुभयो । विद्युतीय बस र हेटौंडा–काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले बताउनुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई बोलाउनुभएको छ । उक्त बैठकमा प्रदेश सरकारले आव २०७८÷०७९को वार्षिक बजेट प्रस्तुत हुनेछ ।