वैद्य विरुद्ध दर्ता मुद्दा फिर्ता लिन कांग्रेस बागमती प्रदेश संसदीय दलको आग्रह

३१ जेठ, हेटौँडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफु नाथुराम गोड्से बन्न तयार रहेको विवादस्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यले लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाउँनुभएको छ ।वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा(एमाले) मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दायर गरेका थिए ।