बासुदेव सभागृहलाई समयसापेक्ष सुविधायुक्त सभागृह बनाउने

८ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४, हुप्राचौरमा रहेको पुरानो बासुदेव सभागृहमा आधुनिक, समयसापेक्ष सुविधायुक्त सभागृह सहित बहुउद्देश्यीय व्यवसायीक कम्प्लेक्स भवन निर्माण गर्ने भएको छ ।
त्यस्तै कम्प्लेक्स र आधुनिक भ्यूटावरको विस्तृत परियोजना (डिपिआर) तयार भइरहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । हेटौंडा–४ को सभागृहको अहिलेको पछिल्लो अवस्था नाजुक रहेको छ । सभागृह भनिएतापनि फोहोर, र व्यवस्थापन नहुँदा भएको जमिन र भवनको उपयोग हुन सकेको छैन । सभागृह परिसरमा भएको पूर्व राजा विरेन्द्रको मुर्ति पनि भग्नावशेष अवस्थामा छ । यसअघि सोही ठाउँमा भ्यू टावर निर्माण गर्न बागमती प्रदेश सरकारले आव ०७५÷०७६ मा १ करोड बजेट समेत विनियोजन गरेको थियो । तर भ्यूटावर बनेन । फेरि यो पटक हेटौंडा उपमहानगरले बासुदेव सभागृहको संरचना भत्काएर बहुउद्देश्यीय भवनको कल्पना गरेको छ । नगरले बनाउने सिटी भ्यू टावरसहित बन्ने भवनमा होटल, बैंकलगायत अन्य व्यवसायिक सटरहरू हुनेछ । अन्डर ग्राउन्ड पार्किङको व्यवस्थापन गर्ने योजना रहेको मेयर महतले बताए । उनका अनुसार नगरले सिटी भ्यू टावरको डिपिआर सम्पन्न गरिसकेको छ । यही हप्तामा करिब ९६ करोडको लागतमा बन्ने बहुउद्देश्यीय भवनको टेन्डर आह्वान हुने मेयर महतले बताए । बहुवर्षको रूपमा सभागृहलाई भत्काएर निर्माण गर्न समय लाग्ने र एक अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।