कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका बढी प्रभावित हुने भन्दै सचेत रहन मन्त्रालयको आग्रह

२ साउन, हेटौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत शैया छुट्याउन निर्देशन गरेको छ ।
सामाजिक विकास मन्त्रालयले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि संक्रमितलाई उपचार गर्न अस्पतालमा शैयाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकारले गरिरहेको जनाएको छ । यस्तै चालू आर्थिकवर्ष २०७८÷७९ मा प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने जनाउँदै खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि दुई अर्ब रुपैयाँ बजेटको समेत विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खोप खरिदका लागिपनि पहल गरिरहेको र संभव नभएमा सघीय सरकारसँग सहकार्य गरेर खोप लगाउने तयारी गरेको छ ।