निर्माण व्यवसायीको लापरबाहीका कारण सरकारले अपजस व्यहोर्नु पर्छः मुख्यमन्त्री पौडेल

६ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीको लापरबाहीको कारण प्रदेश सरकारले अपजस व्यहोर्नु परेको भन्दै दुःखेसो व्यक्त गर्नुभएको छ ।
बुधबार यातायात पुर्वाधार निर्देशनालयको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो व्यक्त गनुभएको हो । यस्तै उहाँले धेरै ठेकेदारहरुले निर्माणको काम अलपत्र पारेर वेपत्ता हुने र जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ र १२ जोड्ने पुल शिलान्यास गरेको ७÷८ महिनामै करिब ६० प्रतिशत काम सम्पन्न भएको भन्दै ठेकेदार कम्पनीले त्यसबाट सिक्नुपर्ने बताउनुभयो । यता, हेटौंडा ९ र १३ जोड्ने कुखरेनी खोलाको पुल विगत ८ बर्षदेखि अलपत्र अवस्थामा छाड्ने ठेकेदारका कारण प्रदेश सरकार गम्भीर समस्यामा पर्दै आएको उहाँको दुःखेसो छ । त्यस्तै प्रदेशसभा सचिवालयको सभाहल निर्माण सुरु गरेको बर्षदिन बितिसक्दा ठेकेदार कम्पनीकै कारण जगसमेत उठाउन नसकिएको उनको भनाई छ । सरकारले मात्रै चाहेर केही पनि नहुने भन्दै मुख्यमन्त्री पौडेलले मुलुक समृद्ध बनाउन सबै राजनीतिक दल, क्षेत्र, सरोकारवाला निकाय र आम जनताको सहभागितामुलक सहयोग आवश्यक रहेको बताए ।