मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई सुरुङमार्ग पुर्ननिर्माण कार्यको शिलान्यास

१४ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगपालिका वडा नम्वर–१५ स्थित चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।
राणाकालिन समयमा निर्माण गरिएको एसियाकै पुरानो उक्त सुरुङमार्ग पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको हो । उक्त स्थानमा नेपाली इन्जिनियर स्वर्गीय डिल्लीजङ थापा नेतृत्वसहितको प्राविधिक टोलीले १०४ वर्षअघि हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा करिब ५०० मिटर सुरुङमार्ग निर्माण गरी भीमफेदी–अमलेखगञ्जसम्म यातायत संचालन भइरहेको पनि जानकारी दिइएको थियो । शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले यो सुरुङले इतिहासलाई बचाउने मात्र नभई अध्ययनको विषय पनि वनाउने बताउनुभयो । उहाँले यस क्षेत्रमा राम्रो खालको पर्यटकिय क्षेत्रको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले सुरुङमार्ग पुर्ननिर्माणको काम तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई आग्रह गर्नुभएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा निर्माणको काम सम्पन्न नगर्दा विभिन्न समयमा प्रदेश सरकार आलोचित बन्नुपरेको भन्दै उहाँले पुर्ननिर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्दै केही समस्या परे प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा निर्माण गर्नका लागि माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड काठमाण्डौले सम्झौता गरेर काम थाल्न लागेको निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले वताउनुभयो ।