गरिबीको रेखामुनी रहेका जनतालाई बिना धितो सहुलियत पूर्ण ऋण दिनेः मन्त्री ढुंगेल

१४ साउन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक बर्ष ०७८÷०७९ मा बिना धितो सहुलियत पूर्ण ऋणको व्यवस्थापन गरिएको बताउनुभएको छ ।
हेटौंडामा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि चालु आर्थिक बर्षमा बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको बताउनुभएको हो । यस्तै सर्वसाधारण जनताको लागि ल्याइएको सहुलियत ऋण लगानी व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत मन्त्री ढुंगेलले बताउनुभयो । उहाँले कोरोना महामारीबाट सिथिल भएको कृषि, उद्योग, व्यापार÷व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने गरी गत आर्थिक बर्ष ०७७÷०७८ को बजेट वक्तव्यमा समेत उल्लेख गरेको जानकारी गराउनुभयो । उक्त कार्यक्रम प्रभावकारी बनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसंग २०७७ मंसिर ८ गते सम्झौता गरिएको उहाँले जानकारी गराउनुभयो । यस्तै आर्थिक मन्त्रालयले गत ०७७ साल पुस ८ गते प्रथम किस्ता ६० करोड विनियोजन गरी कृषि विकास बैंक लिमिटेडलाई ४० करोड रुपैंया तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई २० करोड रुपैयाँ उक्त कार्यक्रमको लागि ऋण लगानी गर्न उपलब्ध गराएको समेत बताउनुभयो । यस्तै बागमती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमार्फत् उक्त कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १ सय ८१ साना किसान कृषि सहकारीमार्फत् ऋण लगानी कार्यक्रम संचालन गरिएको मन्त्री ढुंगेलले जानकारी गराउनुभयो ।