बागमती र थाहा सेमिफाइनलमा प्रवेश

२० मंसिर, हेटौँडा । बागमती गाउँपालिका र थाहा नगरपालिका हेटौंडामा जारी अन्तरपालिका जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
जिल्ला समन्वय समिती मकवानपुरको आयोजनामा हेटौंडा–४ हुप्रचौरमा जारी सोमबारको पहिलो खेलमा इन्द्रसरोबर गाउँपालिकालाई ट्राईब्रेकरमा हराउँदै बागमती सेमिफाइनल प्रवेश गरेको हो । बागमतीले इन्द्रसरोबरलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलमा सुरुवाती अग्रता इन्द्रसरोबरले लिएपनि बागमतीले खेलमा पुनरागमन गर्दै बराबरी गर्न सफल भएको हो । इन्द्रसरोबरका लागी मिलन लामा र बिजय लामाले एक एक गोल गर्दा बागमतीका लागी आकाश राना मगर दुई गोल गरेका थिए । ट्राईब्रेकरमा भने इन्द्रसरोबरका २ खेलाडीको प्रहार बागमतीका गोलरक्षक उमेश पाख्रीनले उत्कृष्ट बचाउ गरेपछि बागमती बिजयी भयो । खेलको म्यान अफ दि म्याच बागमतीका गोलरक्षक पाख्रीन घोषित भए । यस्तै सोमबार नै भएको प्रतियोगिताको दोस्रो खेलमा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४–० को गोल अनतरले पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । थाहाका लागी राजन गोलेले ह्याट्रिक पुरा गर्दा सन्देश वलले एक गोल गरे ।