१४ वर्षिया कुसुम खड्का बनिन् एक दिनको वडा अध्यक्ष

२१ मंसिर, हेटौँडा । १४ वर्षिया कुसुम खड्का मंगलबार एक दिनका लागि हेटौंडा उपमहानगरपालिका, वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाअध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । सोही विद्यालयका विद्यार्थीहरू रीभा बानियाँ, सृष्टि विक, रजल श्रेष्ठ र सौगात घोरासैनीलाई वडा सदस्यको जिम्मेवारी दिइएको थियो । विशेष गरी बालबालिका तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो एक दिनको कार्यकालमा केही गर्ने बताएकी खड्काले वडा कार्यालयले प्रवाह गरिरहेको सेवा महिला तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गमैत्री भए नभएको बारेमा कर्मचारीहरूसँग जानकारी लिइन् । खड्का सहितको एक दिनको वडा कार्यसमितिले हर्नामाडीस्थित स्वास्थ्यचौकी तथा प्रहरी चौकीको समेत अनुगमन गरेको थियो । खड्काले मंगलबार नै महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला जागरण समुह हर्नामाडीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।आफ्नो एक दिने कार्यकालको अन्त्यमा खड्कासहितको वडा समितिले वडा भित्रका सरकारी कार्यालयहरूमा सुझाव पेटिका अनिवार्य राख्ने, वडा कार्यालयलाई अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री बनाउने तथा वडाभित्र कम उमेरमा हुने गरेको बिबाहलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमहरू वडा कार्यालयको पहलमा अघि बढाउने निर्णय गरेको छ ।