चित्तल संरक्षणको माग गर्दै विद्यार्थीहरुद्वारा उपमहानगरपालिका अगाडि प्रदर्शन

१० माघ, हेटौँडा । वनविज्ञान अध्ययन संस्थानको जंगलमा भुस्याहा कुकुरले चित्तल मार्ने क्रम बढ्दै गएपछि संस्थानको विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संस्थानका विद्यार्थीहरुले भुस्याहा कुकुरले चित्तल मार्ने क्रम बढ्दै गएपछि पटक–पटक त्यसको संरक्षण र भुस्याहा कुकुरलाई व्यवस्थापन गर्न डिभिजन वन कार्यालयलाई जानकारी गराउँदा खासै चासो नदिएको भन्दै हेटौंडा उपमहानगरपालिको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सोमबार बिहानै कुकुरको आक्रमणबाट मारिएको चित्तलसहित उपमहानगर गेट अगाडी प्रदर्शन समेत गरेका थिए । संस्थानको जंगल छेउमा रहेको उपमहानगरको डम्पिङ साइटमा भुस्याहा कुकुर आउने र त्यही स्थानमा पानी खान र चर्न मृग र चित्तल पनि पुग्ने त्यसैबेला भुस्याहा कुकुरले मृग र चित्तललाई मार्ने गरेको संस्थानका विद्याथीहरुले बताएका छन् । पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा मारिएपछि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको विद्यार्थी सुजन खतिवडाले जानकारी दिनुभयो । यसै क्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले विद्यार्थीहरुले कुकुरको आक्रमणबाट मृग र चित्तल मारिनेक्रम बढेकोे बारेमा जानकारी गराएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिँदै नगरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणमा सरोकारवालाले ध्यान नदिएको भन्दै पटक–पटक ध्यानाकर्षण र वनविज्ञान अध्ययन संस्थानक अगाडीको राजमार्गमा प्रर्दशन समेत गदै आएका थिए ।