एमाले मकवानपुरका नव निर्वाचित पदाधिकारीसहित सदस्यहरुले शपथ लिए

११ माघ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई सपथग्रहण गराउनुभएको हो । यस्तै अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरुलाई सपथग्रहण गराउनभयो । सर्वसम्मतको नाममा जिल्ला कमिटि घोषणाँ गरिएको भन्दै बिरोध जनाएका अध्यक्षका अर्का प्रत्यासी अध्यक्ष बद्रीप्रसाद लम्सालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै मंगलबार सपथग्रहण भएको हो । सपथग्रहण कार्यक्रममा बोल्दै नेता लम्सालले आफु सहमतिको वाधक कहिलेपनि नभएको र एमालेको नयाँ कमिटिले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँनुभयो । यस्तै २०३७ साल पछि आफु पहिलो पटक भूमिका विहिन भएको भन्दै नेता लम्सालले पार्टीले यसको मूल्याङ्कन गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहाँले आफुले कुनै पद प्राप्तीको लागि वार्गेनिङ गर्न बिरोध नगरेको समेत बताउनुभयो । गत पुस २३–२४ मा भएको नेकपा एमाले मकवानपुरको ११ औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको थियो ।